A A A A A

जीवन: [पीडा]


यर्मिया 29:11
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

भजनमा 34:18
चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

भजनमा 147:3
उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ।

प्रकाश 21:4
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

मत्ती 4:23-25
[23] अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।[24] उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।[25] अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।

भजनमा २३:१-६
[१] दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।[२] उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।[३] उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।[४] मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।[५] मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।[६] निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

२ कोरिन्थी १:३-८
[३] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।[४] उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।[५] किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं।[६] हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।[७] तिमीहरूका निम्‍ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्‍दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्‍यसरी नै हाम्रो सान्‍त्‍वनामा पनि तिमीहरू सहभागी हुनेछौ।[८] भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं।

१ पत्रुस 4:12-19
[12] प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर।[13] तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।[14] यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।[15] तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।[16] तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌।[17] किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला?[18] अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने अधर्मी र पापीको गति के हुने?”[19] यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

जन १६:१६-२४
[१६] “अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्‍नेछौ।”[१७] तब उहाँका कुनै-कुनै चेलाहरूले एक-अर्कालाई भने, “उहाँले हामीहरूलाई यो भन्‍नुभएको के हो? ‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि फेरि अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछौ,’ र ‘किनकि म पिताकहाँ गइरहेछु’।”[१८] तिनीहरूले भने, “उहाँले ‘अलि बेर’ भन्‍नुभएको के हो? हामी जान्‍दैनौ, उहाँ के भन्‍दैहुनुहुन्‍छ।”[१९] तिनीहरूले उहाँलाई सोध्‍ने इच्‍छा गर्दैछन्‌ भन्‍ने येशूलाई थाहा भयो, र उहाँले भन्‍नुभयो, “‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई देख्‍नेछौ’ भन्‍ने कुराको अर्थ के हो भन्‍ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ?[२०] साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्‍दमा परिणत हुनेछ।[२१] बालक जन्‍माउने बेलामा स्‍त्रीलाई पीडा हुन्‍छ किनभने तिनको बेला आएको हुन्‍छ, तर जब तिनले बालक जन्‍माउँछिन्, तब तिनलाई त्‍यस वेदनाको सम्‍झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्‍म भयो भन्‍ने कुरामा तिनी हर्षित हुन्‍छिन्‌।[२२] यसरी नै अहिले तिमीहरूलाई शोक हुन्‍छ, तर म फेरि तिमीहरूलाई देख्‍नेछु, र तिमीहरूका हृदय आनन्‍दित हुनेछन्‌। अनि कसैले तिमीहरूको आनन्‍द तिमीहरूबाट खोस्‍नेछैन।[२३] त्‍यो दिन तिमीहरूले मलाई केही सोध्‍नेछैनौ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्‍छौ, उहाँले त्‍यो तिमीहरूलाई दिनुहुनेछ।[२४] अहिलेसम्‍म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्‍द पूर्ण होओस्‌।

हिब्रू १२:१-११
[1] यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।[2] हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।[3] पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।[4] पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्‍थासम्‍म तिमीहरू पुगेका छैनौ।[5] के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्‍बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्‍झ, उहाँबाटको दण्‍डमा हरेस नखाऊ,[6] किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”[7] ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?[8] तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।[9] यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र?[10] किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।[11] सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।

रोमी ८:१८-२८
[१८] म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।[१९] सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।[२०] सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,[२१] कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।[२२] हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।[२३] सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।[२४] किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?[२५] तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।[२६] त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।[२७] र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।[२८] हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

भजनमा 91:1-16
[1] जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।[2] परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”[3] निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।[4] उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।[5] तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,[6] न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।[7] एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।[8] तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।[9] यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—[10] तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।[11] किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।[12] तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।[13] तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।[14] परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।[15] त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।[16] लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

Nepali Bible (NNRV) 2012
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012