१ कोरिन्थी १:५ |
किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— |
|
प्रेरित २:४ |
अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। |
|
प्रेरित १९:६ |
जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्य भाषामा बोले र अगमवाणी गरे। |
|
गलाती ५:२२ |
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, |
|
मार्क १६:१७ |
विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, |
|
१ कोरिन्थी १४:२ |
किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ। |
|
१ कोरिन्थी १४:२३ |
यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र? |
|
१ कोरिन्थी १४:२७-२८ |
[२७] कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।[२८] तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्। |
|
१ कोरिन्थी १२:८-११ |
[८] कसैलाई पवित्र आत्माद्वारा बुद्धिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्माअनुसार ज्ञानका कुरा बोल्ने,[९] कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्,[१०] कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।[११] तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ। |
|
१ कोरिन्थी 13:1-13 |
[1] मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।[2] मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।[3] यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।[4] प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।[5] प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।[6] प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।[7] प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।[8] प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।[9] हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।[10] तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।[11] जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।[12] अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।[13] अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो। |
|
१ कोरिन्थी १४:१-४० |
[१] प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति।[२] किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ।[३] तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।[४] अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।[५] तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।[६] भाइ हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्छ?[७] बाँसुरी वा वीणाजस्ता निर्जीव बाजाबाट स्पष्ट ध्वनि निस्केन भने, कसले भन्न सक्छ के बजिरहेछ?[८] यदि तुरहीले स्पष्ट ध्वनि दिएन भने युद्धको निम्ति को तयार हुने?[९] तिमीहरूसँग पनि यस्तै हुन्छ। यदि बुझ्नै नसकिने शब्द तिमीहरू आफ्नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।[१०] संसारमा शायद धेरै किसिमका भाषाहरू छन्। ती कुनै पनि अर्थहीन छैनन्।[११] यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्नेको निम्ति म विदेशी हुन्छु, र त्यो बोल्नेचाहिँ मेरो निम्ति विदेशी हुनेछ।[१२] यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर।[१३] यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्।[१४] किनभने मैले अन्य भाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्फल हुन्छ।[१५] अब मैले के गर्ने त? म आत्माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्माले स्तुति गर्नेछु, र म दिमागले पनि स्तुति गर्नेछु।[१६] नत्रता तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थनापछि “आमेन” कसरी भन्ने? जब कि तिमीले के भनेको सो उसले बुझ्दैन।[१७] तिमी त राम्ररी धन्यवाद दिन्छौ होला, तर त्यसले त्यो अर्को मानिसको केही आत्मिक वृद्धि गर्दैन।[१८] म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्दा बढ़ी म अन्य भाषामा बोल्दछु।[१९] तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँच वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु।[२०] भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्ति बालक बन, तर सोच-विचारमा परिपक्व बन।[२१] व्यवस्थामा लेखिएको छ, “अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्, परमप्रभु भन्नुहुन्छ।”[२२] यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो। तर अगमवाणीचाहिँ अविश्वासीहरूका निम्ति होइन, तर विश्वासीहरूका निम्ति हो।[२३] यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?[२४] तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्वासी वा बाहिरको मानिस त्यहाँ पस्यो भने उसलाई सबैद्वारा आफ्नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।[२५] त्यसको हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्, र घोप्टो परेर त्यसले परमेश्वरलाई पुज्नेछ, र त्यसले “परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ” भन्ने घोषणा गर्नेछ।[२६] भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्।[२७] कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।[२८] तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।[२९] अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्।[३०] तर त्यहाँ बस्ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्।[३१] तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्न सक्छौ, र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्।[३२] अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।[३३] किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,[३४] स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।[३५] केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो।[३६] के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?[३७] कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने त्यसले स्वीकार गरोस्।[३८] तर कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन।[३९] यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर, र अन्य भाषामा बोल्नेहरूलाई मनाही नगर।[४०] तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |