यशैया 26:20 |
हे मेरा प्रजा, आ-आफ्ना घर जाओ र घरमा पसी ढोका बन्द गर। परमेश्वरको क्रोध नमरेसम्म केही समयको लागि तिमीहरू लुकेर बस। |
|
यर्मिया २५:३२-३३ |
[३२] सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि विपत्ति एउटा जातिदेखि अर्को जाति गर्दै बढिआउनेछ र पृथ्वीको पल्लो भागमा एउटा ठूलो आँधी-बेहरी तयार हुँदै छ।[३३] त्यस दिन परमप्रभुले मार्नुभएकाहरूको लाश पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, कसैले तिनीहरूका लाश जम्मा गरी गाड्नेछैन। ती लाशहरू मलको थुप्रोझैँ जमिनमा लडिरहनेछन्। |
|
२ इतिहास ७:१३-१४ |
[१३] जहिले-जहिले म वर्षा बन्द गर्छु वा अन्नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु,[१४] त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु। |
|
प्रकाश 6:3-8 |
[3] त्यसपछि थुमाले दोस्रो मोहर खोल्नुभयो र मैले दोस्रो जीवित प्राणीले “आऊ!” भनेको सुनें।[4] अर्को एउटा रातो घोडा निस्क्यो र मानिसहरूले एक-अर्कालाई मारामार गरून् भनेर त्यस रातो घोडामाथि चढ्नेलाई लडाइँ ल्याउने अधिकार दिइएको थियो। उसलाई एउटा ठूलो तरवार दिइयो।[5] त्यसपछि थुमाले तेस्रो मोहर खोल्नुभयो र तेस्रो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। कालो घोडा निस्क्यो। यसमाथि चढ्ने मानिसको हातमा एउटा तराजु थियो।[6] “एक दिनको ज्यालाले एक किलो गहुँ वा तीन किलो जौ किन्न सकिन्छ तर भद्राक्ष र अङ्गुरका बोटलाई खति नगर।”[7] अनि थुमाले चौथो मोहर खोल्नुभयो र चौथो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें।[8] मैले हेरें! हल्का पहेंलो रङ्गको एउटा घोडा देखा पर्यो। यसमाथि चढ्नेको नाउँ “मृत्यु” थियो र पाताल पनि यसको पछि लागेको थियो। तिनीहरूलाई लडाइँ, अनिकाल, महामारी र जङ्गली जन्तुहरूद्वारा एक चौथाइ भाग नाश गर्ने अधिकार दिइएको थियो। |
|
१ शमूएल ५:६ |
परमप्रभुले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो र तिनीहरू डराए। उहाँले तिनीहरूलाई र छेउ-छाउका इलाकामा भएका मानिसहरूलाई गिर्खा ल्याइदिएर दण्ड दिनुभयो। |
|
२ कोरिन्थी ४:७ |
यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन। |
|
प्रस्थान २०:३ |
“मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्नू। |
|
जेम्स ४:१० |
प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्नुहुनेछ। |
|
मत्ती ६:२४ |
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। |
|
फिलिप्पी ४:६ |
केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। |
|
भजनमा १०३:२-३ |
[२] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् र उहाँ कस्तो दयालु हुनुहुन्छ, नबिर्सी।[३] उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्छ। |
|
संख्या ११:३१-३३ |
[३१] अचानक परमप्रभुले बतास पठाउनुभयो। त्यस बतासले समुद्रबाट बट्टाई चराहरू उडाइल्यायो। बट्टाई चराहरू भूइँबाट एक गज जति अग्लोमा उडेर आए र छाउनीका चारैपट्टि बसे। एक दिनको टाढा चारैतिर बाटोसम्म चराहरू बसेका थिए।[३२] यसरी त्यो दिन, रात र भोलिपल्ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए।[३३] तिनीहरूले सबै मासु खाइसक्दानसक्दै परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूका माझमा एउटा महामारी फैलाउनुभयो। |
|
प्रस्थान ९:८-११ |
[८] तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्।[९] खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्नेछन्।”[१०] यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।[११] अरू सबै मिश्रीहरूको शरीरमा जस्तै जादूगरहरूका शरीरमा पनि पिलो निस्क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्। |
|
जेम्स 1:2-6 |
[2] मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ।[3] तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ।[4] तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर।[5] तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ।[6] तर माग्दा शङ्का नगरी विश्वास राखेर माग्नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्ने समुद्रको छालजस्तै हो। |
|
प्रकाश ९:१५-१९ |
[१५] ती चार स्वर्गदूत फुकाइए, सारा संसारका मानिस जातिको तेस्रो भागलाई नाश पार्नलाई यसै वर्षको यसै महिनाको यसै दिनको यही बेलाको लागि उनीहरू तयार पारिएका थिए।[१६] त्यहाँ बीस करोड घोडचढी फौज छन् भन्ने मैले सुनें।[१७] अनि मेरो यो दर्शनमा मैले ती घोडा र तीमाथि चढ्नेहरू देखें। तिनीहरूका छातीमा लगाएका कवचहरूचाहिँ आगोजस्तो रातो, नीलमजस्तो नीलो, गन्धकजस्तो पहेंलो देखें। घोडाहरूका टाउका सिंहका टाउका जस्ता थिए र तिनीहरूको मुखबाट आगो धूवाँ, र गन्धक निस्कन्थ्यो।[१८] दुनियाँभरिका मानिसहरूलाई तेस्रो भागको तीन महामारीले मार्यो। त्यो महामारीचाहिँ घोडाको मुखबाट निस्कने आगो, धुवाँ र गन्धक थिए[१९] किनभने ती घोडाका मुख र पुच्छरमा पनि मार्ने शक्ति थियो। तिनीहरूका पुच्छर विषालु साँपका टाउकाजस्ता थिए र मानिसहरूलाई पिरोल्न ती चलाउँथे। |
|
मार्क १३:३२-३७ |
[३२] “त्यो दिन र बेला कहिले आइपुग्ने हो, त्यो ठीकसँग कसैलाई पनि थाहा छैन। स्वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्यो कुराचाहिँ परमेश्वर पितालाई मात्र थाहा छ।[३३] त्यसैले चनाखो भएर जागै बस किनभने त्यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन।[३४] “त्यो त नोकरहरूलाई घर जिम्मा लगाएर डुल्न जाने मालिकको कुराजस्तो छ। मालिकले आफ्ना नोकरहरूलाई आ-आफ्नो काम गरिराख्नू भनेर कामको जिम्मा लगाइदिन्छ अनि पालेलाई पनि ‘राम्रो देखरेख गर्नू!’ भनेर अह्राइराख्छ।[३५] त्यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्न सक्छ[३६] अनि अचानक आइपुग्दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्![३७] तिमीहरूलाई भनेजस्तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!” |
|
भजनमा ९१:२-१४ |
[२] तिनीहरूले उहाँलाई भन्न सक्छन्, “मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंमा भरोसा राख्दछु।”[३] उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ।[४] उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्वासयोग्यताले तिमीलाई रक्षा गरेर बचाउनेछ।[५] दिउँसो अचानक आइलाग्ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्नुपर्नेछैन[६] वा अन्धकारमा आइलाग्ने आपत्-विपद् अथवा दिउँसै प्राण लिने दुष्ट कुराहरूदेखि डराउनुपर्नेछैन।[७] तिम्रो छेउमा हजार जना लोट्लान्, तिम्रा चारैपट्टि दश हजार, तर तिमीलाई केही चोट लाग्नेछैन।[८] दुष्टहरूले कसरी सजायँ पाउँछन्, तिमीले देख्नेछौ।[९] परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ,[१०] यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन।[११] तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्वरले आफ्ना दूतहरूलाई तिम्रो जिम्मा दिनुहुनेछ।[१२] ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्ना हातले तिमीलाई उचालिराख्नेछन्।[१३] तिमीले सिंहहरू र सर्पहरू, डरलाग्दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्चनेछौ।[१४] “जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म बचाउनेछु र जसले मलाई परमप्रभु भनी स्वीकार गर्छन्, तिनीहरूलाई म रक्षा गर्नेछु। |
|
लूका २१:५-३८ |
[५] एकपल्ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्दिर कति सुन्दर छ!” भन्दै कुरा गरिरहेका थिए। येशूले भन्नुभयो,[६] “यस्तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ!”[७] तिनीहरूले भने, “गुरुज्यू, यो कहिले हुनेछ? अनि यस्तो हुन लाग्यो भनी हामीले कसरी थाहा पाउने?”[८] येशूले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्ट मै हुँ’ भन्दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्नेछन् तर तिनीहरूको पछि नलाग।[९] घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!”[१०] येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ।[११] ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्नेछ। आकाशमा डरलाग्दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्हहरू देखिनेछन्।[१२] “यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्यालखानमा हाल्नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्याउनेछन्।[१३] त्यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्नेछ।[१४] तर आफ्नो बचाउको लागि के भन्ने हो भनेर पटक्कै चिन्ता नगर[१५] किनभने म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्नेछ।[१६] आफ्नै आमा-बुबा, दाजुभाइ, आफन्त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्ये कतिलाई त तिनीहरूले मार्नेछन्।[१७] मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्।[१८] तर एउटै केश पनि तिमीहरूको टाउकोबाट झर्नेछैन।[१९] डटेर बस र तिमीहरूले जीवन पाउनेछौ।[२०] ‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्ने कुरा तिमीहरूले बुझ।[२१] त्यस बेला यहूदिया क्षेत्रमा हुनेहरू पहाडतिर भागून्, सहरभित्र हुनेहरूले सहर छोडून् र गाउँतिर हुनेहरू सहरमा नपसून्[२२] किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्।[२३] त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्ठ्यारोपर्नेछ। देशभरि डरलाग्दो दु:ख आइपर्नेछ। परमेश्वरको दण्ड यस जातिका मानिसहरूमाथि खनिनेछ।[२४] शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्जेल तिनीहरूले यरूशलेमलाई कुल्ची-मिल्ची गर्नेछन्।[२५] “घाम, जून र ताराहरूमा अनौठा चिन्हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्दा छालहरूले गर्दा पृथ्वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्।[२६] पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।[२७] त्यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ।[२८] त्यस्ता कुराहरू हुनेबित्तिकै साहसी भएर माथितिर हेर किनभने तिमीहरूको उद्धार चाँडै हुनेछ।”[२९] त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर,[३०] तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले गर्मीको याम लागेछ भनेर जान्दछौ।[३१] त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा परमेश्वरको राज्य आइसक्न लागेछ भनेर तिमीहरूले जान्नेछौ।[३२] साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन।[३३] आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्।[३४] “चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।[३५] एक्कासि पासोमा परेजस्तै “त्यो दिन” पृथ्वीका सबै मानिसहरूमाथि आइपर्नेछ।[३६] त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।”[३७] ती दिनहरूमा येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र रातीचाहिँ सहरबाट निस्केर जैतुन भन्ने डाँडामा बास बस्न जानुहुन्थ्यो।[३८] सबै मानिसहरू बिहानै उहाँको शिक्षा सुन्न मन्दिरमा आउँथे। |
|
मत्ती २४:१-३५ |
[१] येशू मन्दिरबाट निस्केर जाँदै हुनुहुन्थ्यो। त्यति बेलै चेलाहरू आएर उहाँलाई मन्दिरको सुन्दरता देखाए।[२] अनि येशूले भन्नुभयो, “तिमीहरूले यी सब देख्नेछौ? साँच्चै म तिमीहरूलाई भन्छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ।”[३] केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्क आएर उहाँलाई सोधे, “गुरुज्यू, हामीलाई भन्नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्नुभएको र संसारको अन्त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?”[४] येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्[५] किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्ट मै हुँ’ भन्दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।[६] तिमीहरूले लडाइँ भयो भन्ने र लडाइँ हुने हल्लाहरू सुन्नेछौ। तर त्यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन।[७] जाति-जातिको बीचमा लडाइँ चल्नेछ। अनि एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ।[८] यी कुराहरू त दु:खको सुरु मात्रै हो।[९] “त्यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्।[१०] त्यस बेला धेरैले आफ्नो विश्वासलाई त्याग्नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्।[११] धेरै झूटा अगमवक्ताहरू निस्केर धेरै मानिसहरूलाई छकाउनेछन्।[१२] जताततै दुष्टता बढ्ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ।[१३] तर आखिरसम्मै स्थिर रहनेहरूचाहिँ बचाइनेछ।[१४] सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्वरको राज्यको सुसमाचार संसारभरि सुनाइनेछ। त्यसपछि संसारको अन्त हुनेछ।[१५] “अगमवक्ता दानिएलले ‘मन्दिरको पवित्र ठाउँमा घिनलाग्दो कुरा राखिएको हुनेछ’ भनेको तिमीहरूले देख्नेछौ। (यसको अर्थ पढ्नेहरूले बुझून्)।[१६] त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।[१७] घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्।[१८] खेत-बारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन फर्केर घरमा नजाऊन्।[१९] त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् बिजोग हुनेछ।[२०] जाडो महिना र विश्रामको दिनमा भाग्नुनपरोस् भनेर तिमीहरूले परमेश्वरसँग प्रार्थना गर[२१] किनभने ती दिनहरूमा आइपर्नेजस्तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन।[२२] परमेश्वरले ती आपत्का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्न सक्ने थिएनन्। तर आफ्ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ।[२३] “ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ’ भनेर तिमीहरूलाई कसैले भन्दैमा त्यो कुरा नपत्याओ[२४] किनभने यस्ता झूटा ख्रीष्ट र झूटा अगमवक्ताहरू देखापर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्ह र अचम्मका कामहरू देखाएर सकेसम्म परमेश्वरले छानेका मानिसहरूलाई पनि झुक्याउनेछन्।[२५] “हेर, मैले तिमीहरूलाई यो कुरा अघिबाटै भनिदिएको छु है।[२६] मानिसहरूले तिमीहरूलाई ‘उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भने पनि तिमीहरू त्यहाँ नजाओ। तिनीहरूले ‘हेर, उहाँ त भित्र कोठामा बस्नुभएको छ’ भने पनि तिमीहरू त्यो कुरा नपत्याओ[२७] किनभने आकाशमा पूर्वदेखि पश्चिमसम्म बिजुली चम्किएजस्तै म मानव पुत्र आउँदा हुनेछ।[२८] जहाँ सिनु छ, त्यहीँ नै गिद्धहरू धुरिन्छन्![२९] “ती आपत्का दिनहरू बितेपछि घाम तुरुन्तै अँध्यारो हुनेछ, जूनले उज्यालो दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन् अनि आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।[३०] त्यसपछि आकाशमा मानव पुत्र आउने चिन्ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्।[३१] तुरही फुकिनेछ अनि मानव पुत्रले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।[३२] “नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्छ।[३३] त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्नै आँटेको छ भनी तिमीहरूले जान्नेछौ।[३४] साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो पुस्ता बित्नेछैन।[३५] आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्नेछैनन्। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |