एक वर्ष बाइबल


जनवरी २९


उत्पत्ति १:१-३१
१. आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
२. पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
३. तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।
४. परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
५. परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
६. तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
७. यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
८. परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
९. तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
१०. त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
११. तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
१२. पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
१३. साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
१४. तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।
१५. यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
१६. यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
१७. पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।
१८. यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
१९. त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
२०. तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
२१. यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
२२. परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।
२३. त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
२४. परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
२५. यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
२६. तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
२७. यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
२८. परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
२९. “म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।
३०. म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।
३१. परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

उत्पत्ति २:१-२५
१. यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
२. परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।
३. परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
४. आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।
५. पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन्। भूमिहरुमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन। त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।
६. पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।
७. तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
८. परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।
९. परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।
१०. बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो।
११. ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।
१२. यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्।
१३. दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो।
१४. तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।
१५. तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो।
१६. परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरु खान सक्छौ।”
१७. तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ।”
१८. तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”
१९. यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो।
२०. अनि मानिसले पाल्तू गाई वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।
२१. त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।
२२. त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।
२३. तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु।”
२४. यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।
२५. त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरु लाज मान्दैन थिए।

भजनमा १:१-६
१. यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन,
२. धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
३. यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।
४. तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
५. यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
६. किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

हितोपदेश १:१-७
१. यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।
२. मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहाण गर्न सिकाउँछन्।
३. यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, इमान्दार हुने सही मार्गदर्शन गर्छन्।
४. यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्।
५. बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।
६. तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।
७. परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

मत्ती १:१-२५
१. यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
२. अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।
३. यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।
४. आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।
५. सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
६. यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
७. सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।
८. आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए।
९. ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।
१०. एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए।
११. योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। (यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए।)
१२. तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए।
१३. जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए।
१४. आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए।
१५. एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए।
१६. याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो।
१७. यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।
१८. येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।
१९. मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।
२०. तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।
२१. उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
२२. अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्
२३. “कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
२४. जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे।
२५. तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।